काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफूलाई प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको भनिएको घटनाबारे स्पष्ट पारेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले केही समयअघि भएको भनिएको घटनाबारे स्पष्ट पार्न माग गरेपछि राईले जवाफ दिएका हुन् ।
राईले पासपोर्ट प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले आफूलाई बोलाएको जानकारी दिए । प्रधानमन्त्रीले बोलाएपछि आफूहरू प्रधानमन्त्री कार्यालय गएको र छलफल भएको उनले बताए ।
‘छलफल गर्न बोलाउन सकिन्छ । उहाँले बोलाएपछि हामी गयौँ, छलफल गर्यौँ,’ राईले भने, ‘सुझाव लिन बोलाउन सकिन्छ । त्यो विषयमा के भएको हो भनेर, तपाईँहरूले के गरिराख्नुभएको छ भनेर बोलाउन सकिन्छ ।’
पासपोर्ट प्रकरणमा मुद्दा दर्ता भइसकेको उल्लेख गर्दै राईले अभियोजनसम्बन्धी विवरण अख्तियारको वेबसाइटमै उपलब्ध रहेको बताए ।
‘मुद्दा दर्ता भइसकेको छ । अभियोजन वेबसाइटमै पाइन्छ,’ उनले भने, ‘अभियोजनमा हामीले त्यो ठीक थियो कि थिएन ? कैफियत कति छ भन्ने कुरा त्यो अभियोजन पत्र नै तपाईँहरूले हेर्नुस्, स्पष्ट देख्नुहुन्छ ।’
अख्तियारले पर्याप्त कैफियत नदेखी मुद्दा अघि नबढाएको उनको भनाइ थियो । ‘कैफियत बिना हामीले लगेको अवस्था त छैन,’ राईले स्पष्ट पारे ।

Comments
Nothing yet. Say the first thing.
Sign in to join the conversation.