उदयपुर । कृषि यान्त्रीकरणमार्फत किसानलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरमा पहिलोपटक मिनी टिलर तथा कम्बाइन मिल सञ्चालन र मर्मत–सम्भारसम्बन्धी पाँचदिने प्रयोगात्मक तालिम सुरु भएको छ ।
हुरेण्डेक–उदयपुरको कार्यक्षेत्रभित्रका २६ जना किसानको सहभागितामा सुरु भएको तालिमको औपचारिक उद्घाटन हुरेण्डेक–उदयपुरका अध्यक्ष शंकर थापाले गरेका हुन् ।
तालिम भदौ २ गतेदेखि ६ गतेसम्म गाईघाटस्थित भुगोल एग्रो एन्ड मल्टिसप्लायर्सको प्राङ्गणमा सञ्चालन भइरहेको छ ।
उदयपुरमा कृषि औजार तथा उपकरण बिक्री–वितरण गर्दै आएको जयलक्ष्मी ट्रेडर्स, कटारीले शाखा विस्तार गरी भुगोल एग्रो एन्ड मल्टिसप्लायर्समार्फत कृषि क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।
तालिममा किसानलाई हाते ट्र्याक्टर (मिनी टिलर) तथा कम्बाइन मिल सञ्चालनसँगै मेसिनमा देखिन सक्ने सामान्य समस्या पहिचान, मर्मत–सम्भार तथा आवश्यक औजार र उपकरणको प्रयोगबारे प्रत्यक्ष अभ्यास गराइनेछ ।
सहभागी किसानका लागि तालिम अवधिभर आवासीय सुविधासमेत उपलब्ध गराइएको छ ।
हुरेण्डेक–उदयपुर र जिड्स उदयपुरको आयोजना तथा विश्व दृष्टि अन्तर्राष्ट्रिय नेपालअन्तर्गत पर्याप्त पोषण परियोजनाको सहयोगमा सञ्चालन भइरहेको तालिमले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउनुका साथै किसानलाई कृषि मेसिनरी सञ्चालन तथा सामान्य मर्मत–सम्भारमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार उदयपुरमा किसान लक्षित मिनी टिलर तथा कम्बाइन मिल सञ्चालन एवं मर्मत–सम्भारसम्बन्धी यस्तो प्रयोगात्मक तालिम पहिलोपटक आयोजना गरिएको हो ।
कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै किसानको सीप र क्षमता अभिवृद्धि गर्ने तालिमले सीपयुक्त किसान, आधुनिक कृषि र समृद्ध उदयपुर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

Comments
Nothing yet. Say the first thing.
Sign in to join the conversation.